स्वतन्त्र उम्मेदवारसहित झण्डै तीन सयजना राप्रपामा प्रवेश



काठमाडौं।भैरहवा क्षेत्रका मुस्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रूपमा परिचित रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी स्वतन्त्र उम्मेदवार नवाब मुसलमानको नेतृत्वमा उनका तीन सयजना समर्थक राप्रपामा प्रवेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले बताए ।सोमबार लोसपा त्याग गरी पूर्वमन्त्री कल्पना पाण्डेले तीन दलीय तालमेलको तर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिइन् ।

उनले राप्रपा प्रवेश गरी आफ्नो समर्थन बोहोरासहितको तीनदलीय टिमलाई हुने बताए । उनले भने, ‘म पनि चुनावी मैदानमा थिएँ, तर घर दैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहोराजत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने यकिन गरेँ । सबैले दीपक बोहोरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दै छ, त्यसलाई सहयोग गर्न यो राप्रपा प्रवेश गरेको हुँ ।’मुसलमानलाई राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, राप्रपा सल्लाहकार समितिका अध्यक्ष तथा पूर्वगृहमन्त्री निरन्जन थापा, पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणाले माला, टीका लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्