भारद्वाज धार्मिक पुस्तकालय स्थापनाका लागि अमेरिकाबाट सहयोग



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जमरकट्टेल सेवा प्रतिष्ठान नेपालले धार्मिक पुस्तकालय स्थापना गर्ने भएको छ । प्रतिष्ठानको कार्यालयबाट सञ्चालन हुने गरी पुस्तकालयको स्थापना गर्न लागिएको हो।

पुस्तकालय स्थापना गर्न साविक नेचावेतघारी- ४ पहेले हुँदै इटहरा-७, मोरङ हुँदै हाल क्यालिफोर्निया निवासी सौगात जमरकट्टेलले आर्थिक सहयोग गरेका छन। प्रतिस्ठानको दीर्घकालीन विकास तथा कार्यालय परिसरमा धार्मिक पुस्तकालय स्थापना गर्ने उद्देश्यले पुस्तक सहयोगार्थ कट्टेलले ३५ हजार नगद सहयोग गरेको सो संस्थाले जनाएको छ । संस्थाको विकास, संरक्षण तथा प्रवर्द्धनका लागि सहयोगदाताले देखाएको चासोप्रति प्रतिष्ठान ऋणी रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलको भनाइ छ ।

यसअघि श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणको लागि प्रारम्भिक चरणमै सौगातका पिता गायत्री प्रसाद जमरकट्टेलले आफ्ना स्वर्गीय मातापिता भक्तमाया र मोतिप्रसाद जमरकट्टेलको स्मृतिमा नगद रु. ५० हजार दान भेटी सहयोग गरेका थिए।
प्रतिष्ठानले सहयोग ग्रहण गर्दै दाताको पेसागत जीवन फलदायी बनोस्, कुल देवताले रक्षा गरुन् भन्दै परिवारको माङ्गलिक जीवनको कामना गर्दै गौरवपूर्ण सहयोगप्रति आभार व्यक्त गरेको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद जमरकट्टेलले बताए ।

प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले गाउँको विकास र प्रगतिका लागि सबै जागरुक बन्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले भने समाजको विकास समाजकै सचेत सिर्जनशील नागरिकको हातमा हुनाले सबैको क्रियाशीलताले मात्र विकास र समृद्धिका लागि साझा लक्ष्य पूरा हुने बताएका छन।

यसैबीच, जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको दीर्घकालीन विकास तथा कार्यालय सञ्चालन प्रविधि मैत्री बनाउने उद्देश्यले प्रीन्टर, ल्यापटप तथा इन्टरनेट जडानकालागि आर्थिक सहयोग गर्ने व्यक्तित्त्वहरुमा गोकुल जमरकट्टेल प्रीन्टर खरिद २६ हजार, तारानाथ जमरकट्टेल इन्टरनेट जडान १५ हजार, ल्यापटप खरिदतर्फ सामूहिक रूपमा कृष्ण जमरकट्टेल १० हजार, उमाकान्त जमरकट्टेल १० हजार, छवि जमरकट्टेल १० हजार १ सय, केशव जमरकट्टेल १० हजार, टोपेन्द्र जमरकट्टेल ५ हजार ५ सय ५०, शान्तिराम जमरकट्टेल, ५ हजार गरी कुल ९१ हजार ५ सय ५० प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्