सत्तारुढ गठबन्धनद्वारा साझा उम्मेदवारको नाम सार्बजनिक,११ स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने



काठमाडौं।सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साझा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । गठबन्धनले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको साझा नामावली सार्वजनिक गरेको हो ।

शुक्रबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार तय गर्नुभएको हो ।

संयुक्त विज्ञप्तिमा केही निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने केही निर्वाचन क्षेत्रमा छलफलद्वारा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउने उल्लेख छ ।

गठबन्धनले सर्लाहीमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ । सर्लाही–१ ‘क’ मा नेकपा (माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाह र लोसपाका उपेन्द्र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । सर्लाही–१ बाट प्रतिनिधिसभामा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी साझा उमेदवार छन् ।

सर्लाही–२ बाट प्रतिनिधिसभामा पनि मित्रवत प्रतिपष्पर्धा हुने भएको छ । यहाँ माओवादी केन्द्रबाट महेन्द्रराय यादव र लोसपाका राजेन्द्र महतोले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।

धनुषा २ मा पनि गठबन्धनबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एसबाट रामचन्द्र झा चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धनमा आबद्ध दलले जारी गरेको सूचीअनुसार बारा–१ को ‘ख’ मा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसबाट नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीबाट बतहु यादव चुनावी मैदानमा छन् ।

यस्तै, पर्सा–३ ‘ख’ मा पनि मित्रवत प्रतिस्पर्धा हुने गठबनधनले जानकारी दिएको छ । यहाँ कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी उमेदावार छन् । प्रतिनिधिसभामा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी उमेदवार छन् ।

काठमाडौं–३ ‘ख’ मा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयाल उमेदवार छन् । उनीहरूबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभामा भने कांग्रेसका सन्तोष चालिसे साझा उमेदवार छन् ।

यस्तै काठमाडौं–५ को ‘ख’ मा श्यामबहादुर खड्का नेपाली कांग्रेस र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले मित्रवत प्रतिस्पर्धा गर्नेछन् । प्रतिनिधिसभामा भने कांग्रेसका प्रदीप पौडेल गठबन्धनबाट साझा उमेदवार बनेका छन् ।

काठमाडौं–६ ‘ख’ मा नेपाली कांसका विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रका प्रकाश फूूयालबीच मित्रवत प्रतिस्पर्धा हुने पक्का भएको छ । प्रतिनिधिसभामा कांग्रेसका भीमसेनदास प्रधान गठबन्धनबाट साझा उमेदवार छन् ।

काठमाडौं–१० मा प्रतिनिधिसभा र एक प्रदेशसभामा मित्रवत प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी उमेदवार छन् । उनको प्रतिस्पर्धामा उत्रिएकी अञ्जना विशुंखेलाई माओवादीले उमेदवार बनाएको छ । काठमाडौं १० कै प्रदेश निर्वाचन क्षेत्र ‘क’मा भने नेपाली कांग्रेसल पुकार महर्जन र माओवादी केन्द्रबाट दिलिप महर्जनबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

गठबन्धनको अन्तिम सूची अनुसार बाँके–२ को ‘क’ मा कांग्रेसका राजकुमार बर्मा र एकीकृत समाजवादीका समसुद्दिन सिद्दिकी उमेदवार छन् । उनीहरूबीच मित्रवत प्रतिपर्धा हुने भनिएको छ । यस्तै, २ कै ‘ख’ मा कांग्रेसका सुरेन्द्र हमाल उमेदवार छन् भने माअ‍ोवादी केन्द्रका अक्कलबहादुर बम उमेदवार छन् । उनीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।

यता, कञ्चनपुर–२ को ‘ख’ मा नेपाली कांग्रेसका बहादुरसिंह थापा र एकीकृत समाजवादीका लालबहादुर खड्का उमेदवार छन् । गठबन्धनले उनीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने जानकारी दिएको छ । प्रतिनिनिधिसभामा कांग्रेसका एनपी साउदलाई साझा उमेदवार तय गरेको छ ।

कञ्चनपुर–३ ‘क’मा एकीकृत समाजवादीका प्रकाश रावल र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट उमेदवार छन् । उनीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । कञ्चनपुर–३ बाट प्रतिनिधिसभामा भने नेपाली कांग्रेसका रमेश लेखक उमेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्