सोलुको बिकास गर्न आफैंले जित्नुपर्ने गठबन्धनका उम्मेदवार केसीको दावी
काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम सोलुखुम्बुमा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले सोलुखुम्बुमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गरेका छन् ।

बिगत पांच बर्षमा सोलुखुम्बुमा कुनै नयाँ योजना आउन नसकेको बताउंदै केसीले आगामी निर्बाचनमा सोलुखुम्बुमा गठबन्धनको जित निश्चित रहेको बताएका हुन्।उनले रोयल्टीबाट प्राप्त रकम समेत खर्च गर्न नसकेको भन्दै उनले बिगतका जनप्रतिनिधिलाई हुतिहाराको संज्ञा समेत दिए।जिल्लाको बिकासका लागि कांग्रेसले जित्नुपर्ने बताउंदै उनले भने,- ‘अहिलेसम्म जे जति भयो मेरै पालामा सुरु भएको हो।’उनले मोटरबाटोको उदाहरण दिए।
यसअघि सोलुखुम्बुबाट संघीय संसद प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरबीर’ थिए।एमाले नेतृत्वको सरकारले केहि नगरेको भन्दै घुमाउरो पाराले उनले गरेका कामको जस पनि दिन चाहेनन्।
गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीका सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको आयोजनामा राजधानीमा शनिबार आयोजित भेटघाट कार्यक्रममा उनले गठबन्धन दलका नेताहरूले पत्याएर टिकट दिएको दावी गरे।नेताहरुले पत्याएर मलाई टिकट दिए उनले भने,-‘अब तपाईंहरु मलाई जिताउन लाग्नुपर्छ।’
पांच बर्षका लागि जनादेश दिए पनि तत्कालीन केपी शर्मा ओलीले सांढे दुई बर्षमै संसद बिघटन गरेकाले एमालेसंग जनतासंग भोट माग्ने आधार समेत नभएको तर्क गरे।केपी ओली हिट्लर शैलीमा अघि बढेकाले संबिधान,लोकतन्त्र र आ-आफ्नो पार्टीको अस्तित्व रक्षाका लागि पांच दलबीच गठबन्धन बनेको उनको भनाई थियो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका अध्यक्ष अशिम राई,गठबन्धनबाट प्रदेश ‘क’का उम्मेदवार गोम्बु शेर्पा ‘कर्ज्याङ’ र ‘ख’ का शिबकुमार बस्नेत ‘राजेन्द्र’ लगायतले आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए।
सोलुखुम्बुमा गठबन्धनको तर्फबाट पूर्बमन्त्री समेत रहेका कांग्रेस नेता केसी प्रतिनिधिसभा सदस्य र ‘कर्ज्याङ’ र ‘राजेन्द्र’ माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

