समानुपातिक तर्फको ९० हजार मतपत्र आईपुग्यो सोलु, प्रत्यक्षको आउँन बाँकी



सोलुखुम्बु।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ । समानुपातिक निर्वाचन प्रणालितर्फको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिकतर्फको एक लाख ८१ हजार मतपत्र जिल्ला आइपुगेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार समानुपातिक निर्वाचन प्रणालितर्फको प्रतिनिधिसभाका लागि ९० हजार थान मतपत्र जिल्लामा आइपुगेको हो । यस्तै प्रदेश सभा सदस्य समानुपातिकतर्फको ९१ हजार थान मतपत्र जिल्ला आइसकेको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फको मतपत्र भने आउन बाँकी रहेको उहाँको भनाइ छ । सहायक निर्वाचन अधिकृत कालाखेतिका अनुसार जिल्लामा आएका मतपत्रहरुको रुजु गर्ने काम भइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र तीन दिन अघि नै जिल्ला आइपुगेको उहाँको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार सोलुखुम्बु जिल्लामा मतदाताको संख्या ८१ हजार ५ सय २ जना रहेका छन् । जसमा महिला ३९ हजार तीन सय ६९ जना रहेका छन भने ४२ हजार एक सय ३३ जना पुरुष रहेका छन ।

प्रतिक्रिया दिनुहोस्