एमालेले प्रत्यक्षमा सय र समानुपातिकमा ५० सिट जित्ने अध्यक्ष ओलीको दावी
भद्रपुर।नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालले १५० सिटमा विजय प्राप्त गर्ने दावी गर्नुभएको छ । 
झापाको धुलाबारीमा आयोजित नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो दावी गर्नुभएको हो।मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एक सय सिट र समानुपातिकतर्फ ५० सिट जित्ने विश्वास वहाँले व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धन कुनै लक्ष नभएको गन्तव्यहीनहरूको जत्था भएको बताउनुभयो ।उहाँले भन्नुभयो–‘गठबन्धन चारतिर मुख फर्काएर बसेको चतर्भुज जस्तै छ । जुन कतै चल्न हिड्न सक्दैन तर मुख भने चारैतिर चलाईरहन्छ, खाइरहन्छ । गठबन्धनको देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उदेश्य छैन ।’
उहाँले गठबन्धनका जालझेल, मतपत्र च्यात्ने, ठग्ने, छलछाम गर्ने जस्ता अवान्छित क्रियाकलाप रोकेर जनमतको कडा रक्षा गर्न एमालेका कार्यकर्ता सचेत र सतर्क हुनुपर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका तीन बर्षमा यो देशको विकासले काँचुली फेरेको स्मरण गर्दै विकास र समृद्धि चाहने सम्पूर्ण नेपालीले आगामी मंसिर ४ मा एमालेलाई बहुमतसहितको सरकार निर्माण गर्ने गरी विजयी बनाउन आग्रह गर्नुभयो ।
उहाँले झापा क्षेत्र नम्बर ३ मा एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेकाले इमान्दारीपूर्वक मतदान गरेर विजयी गराउन निर्देशन गर्नुभयो ।
सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं.३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको अध्यक्ष लिङदेनले बताउनुभयो ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

