एमाले उम्मेदवार राईले भने,- ‘म सोलुखुम्बुबासीको शिर निहुरिने काम कहिल्यै गर्दिन’



डिल्ली शर्मा,सोलुखुम्बु।नेकपा एमालेका केन्द्रीय सदस्य एबम सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईले आफुले कहिल्यै पनि सोलुखुम्बुबासी जनताको शीर झुक्ने काम नगर्ने बताएका छन् ।

नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको आयोजनामा वडा नं-३,४र ५ का अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन्।आफ्नो ब्यक्तिगत चाहनाले नभई पार्टीले एकमतले निर्णय गरेका कारण आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको स्पष्ट पार्दै उनले जिल्लाको बिकास र समृद्धिसंगै युवा पुस्ताको सपना साकार पार्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए ।नेकपा एमाले जनताको मार्ग निर्देशन र पार्टीको बिधान अनुसार चल्ने पार्टी भएका कारण गठबन्धनतर्फका उम्मेदवार बलबहादुर केसीले पटकपटक सांसद र मन्त्री हुँदा जिल्लाका जनताको अपमान गरे जस्तो आफुबाट कहिल्यै नहुने बताउंदै राईले भने,- ‘म सदैब सहिदप्रतिको सम्मान र जिल्लाबासीको चाहना पुरा गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछु । पूर्बमन्त्री समेत रहेका गठबन्धनका उम्मेदवार केसीले ब्यबस्था परिवर्तनका लागि टिम्बुरबोटेमा जीवन अर्पण गरेका सहिदहरुको पार्क बनाउने नाममा करोडौं भ्रष्टाचार गरेर उनीहरूको अपमान गरेको आरोप लगाए।

केसीले पहिलो संबिधानसभा निर्बाचनमा सिसाखोला र देउसामा माओबादी कार्यकर्ताको हत्या गरेको स्मरण पनि उनले गरे। गठबन्धनका नाममा यस्ता हिंश्रक प्रबृती भएका ब्यक्तिलाई इमान्दार राजनीतिक ब्यक्तिले स्वीकार गर्न नसक्ने बताउंदै उनले मंसिर ४ गते हुने निर्बाचनमा आफुउले बिजय हासिल गर्ने निश्चित रहेको दावी पनि गरे।उनले भने,- गठबन्धनका साझा उम्मेद्वारलाई यसपटक सोलुखुम्बुबाट जनताले सिहदरवार छिर्न दिनें छैनन्।

तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको ‘एक स्थानीय तह- एक सुबिधा सम्पन्न अस्पताल’को अबधारण अनुरुप संचालनमा ल्याएका अस्पताल स्थानीय तहमा काँग्रेस बिजयी हुने बित्तिकै बन्द गरेर जनतालाई सास्ती दिन थालेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे।

कार्यक्रममा सोलुखुम्बु जिल्लाको प्रदेश ‘क’ का प्रदेस सभा सदस्यका उम्मेद्वार उत्तम कुमार बस्नेतले आफुले अघिल्लो निर्बाचनमा बिजयी बनेर सोलुखुम्बुमा बिकासको खाका तयार गरेको बताए । कोरोना महामारीका कारण सबै काम पुरा हुन नसके पनि जिल्लामा नेपाली काँग्रेस र माओबादीबाट बिजयी सांसदहरुको लामो कार्यकाल भन्दा आफुले जनताले अनुभुति गर्ने गरि बिकासका कामलाई अगाडी बढाएको उनको दावी थियो।

नेकपा एमाले नेचासल्यानका अध्यक्ष जगन्नाथ बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बाँस्तोलाले जनताले अब नेताको आश्वासनमा नभई प्रत्यक्ष बिकासमा बिश्वास गर्ने भएकोले नेकपा एमालेको जित सुनिश्चित रहेको बिश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्