एमालेका राई र कांग्रेसका केसीसहित सोलुखुम्बुमा १० दलका २१ जनाले गराए उम्मेदवारी दर्ता



सोलुखुम्बु।आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि सोलुखुम्बुमा विभिन्न दलहरुले प्रत्यक्षतर्फका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन्।

निर्बाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको असोज २३ गते आज सदरमुकाम सल्लेरीस्थित मुख्य निर्बाचन अधिकृतको कार्यालय पुगि नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र लगायत दलकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको सहायक निर्बाचन अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए।कालाखेतीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ८, प्रदेशसभा ‘क’ का लागि ७ र ‘ख’ का लागि ६ जना गरि २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

शनिबार बसेको सर्बदलीय बैठकले निर्धारण गरेको समयसीमामा दलहरूले आफ्नो उम्मेदवारी दर्ता गराएको कालाखेतीले बताए।
यस क्रममा संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मानबीर राई र पांचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्। एमाले केन्द्रीय सदस्य समेत रहेका राई पूर्बजिल्ला कमिटी अध्यक्ष समेत हुन्। केसी पूर्बमन्त्री र कांग्रेस केन्द्रीय सदस्य हुन्।केसी यसअघि ४ पटक प्रतिनिधिसभा सदस्यमा निर्बाचित र दुई पटक जिल्लाबाट पराजित भएका थिए।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका तारानाथ जमरकट्टेल,जनता समाजबादी पार्टीका लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लह्मु शेर्पा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर बस्नेत,नेकपा मालेका बिष्णु बास्तोला र नेशनल मंगोल अर्गनाइजेसनका सौबी राईले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उता,प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट निर्बाचन क्षेत्र ‘क’ मा उत्तमकुमार बस्नेत र ‘ख’ मा बुद्धिकुमार राजभण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।उनीहरू दुबै निबर्तमान प्रदेश १ सांसद हुन्।०७४ सालको निर्बाचनमा कांग्रेस उम्मेदवारहरुलाई पराजित गर्दै प्रदेश सभामा निर्बाचित भएपछि राजभण्डारी नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक र बस्नेतले राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए।

यसैगरी जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘क’ मा नेकपा माओवादी केन्द्रलेगोम्बु शेर्पा ‘कर्ज्याङ’, राप्रपा बाट प्रदेश ‘क’ मा नरबहादुर बस्नेत,नेमकिपाले कमलबहादुर मगर, नेकपा एकीकृत समाजबादीले भीमकुमार शर्मा,नेमकिपाले चेतनाथ खनाल, जसपाले भक्तबहादुर राई र ‘मंगोल नेशनल अर्गनाइजेसनले खेमकुमार राईलाई उम्मेदवार बनाएको छ भने
प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट माओवादी केन्द्रले शिबकुमार बस्नेत ‘राजेन्द्र’ राप्रपाले प्रेमहरी दाहाल, नेमकिपाले कमल बहादुर मगर ,जसपाले महेश कुमार रानामगर र मंगोल नेशनल अर्गनाइजेसनले शान्तिमाया रानामगरलाई उम्मेदवार बनाएको सहायक निर्बाचन अधिकृत कालाखेतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्