लगातारको झरीले जनजीवन अस्तब्यस्त, ठुला नदीहरुमा अझै पानीको वहाव बढ्ने



काठमाडौं।हिजोदेखि परेको अविरल बर्षाका कारण मुलुकका विभिन्न ठाउँहरुमा जनजीवन अस्तब्यस्त बन्न पुगेको छ।कतिपय स्थान डुबानमा छन् भने पहिरो खस्दा कुनै सडक खण्डमा आवागमन ठप्प भएको जनाईएको छ।

हिजाे साँझदेखि भएको लगातार वर्षाका कारण चितवन नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सत्रकिलाेमा पहिराे खसेपछि यातायात अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदाेसहितकाे पहिराे आएर दुईतर्फी रूपमै यातायात बन्द भएकाे हाे ।डिभिजन सडक कार्यालयसँग समन्वय गरी बाटाे खुलाउने पहल भइरहेकाे उनले बताए ।

अविरल वर्षाकै कारण खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि गुल्मीमा विद्युत सेवा अवरुद्ध भएको छ ।

तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्‍याएको नेपाल विद्धुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

यसैगरी,लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले बताए ।
यसैबीच,आगामी तीन दिन अधिकांश ठूला नदीमा बाढी आउने भएको छ । देशका धेरै भागमा केही दिनदेखि निरन्तर वर्षा भइरहेका कारण अधिकांश ठूला नदीमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाऊ, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने विभागले जनाएको छ । केहीमा सतर्कता र केहीमा खतराको तहसम्म पुग्न सक्ने विभागको पूर्वानुमान छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्