निर्बाचन आयोगमा समानुपातिकको अन्तिमशुचि बुझाउने दलको संख्या ३६ पुग्यो
काठमाडौं। नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संशोधनसहित समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ।कांग्रेसले समानुपातिकको बन्दसूची बुझाएसंगै निर्बाचन आयोगमा बन्द सूची बुझाउने दलहरूको संख्या हालसम्म
३६ पुगेको छ।

शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नाम टुंगो लगाउँदै कांग्रेसले अन्तिम सूची आयोगलाई बुझाएको हो। कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले संशोधनसहित सूची बुझाएको जानकारी दिए।
निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा भएको त्रुटी संशोधनका लागि आइतबारसम्मको समय दिएको छ। बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले सोमबारसम्म सक्नेछन्।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो।
समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरूको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक पदाधिकारीले जानकारी दिए।
मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटी संशोधनका लागि ९ गतेदेखि असोज १६ सम्मको समयावधि दिएको थियो। समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए।
जसअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन् भने बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटी सच्याउन आयोगमा बोलाइएको छ। दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबारसम्मको समय दिइएको छ।

