देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा : पूर्बराजा ज्ञानेन्द्र

काठमाडाै। पूर्वराजा ज्ञानेन्द्र शाहले देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको बताउनुभएको छ ।भिडियो सन्देशमार्फत् शुक्रबार दशैँको शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो। अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको उल्लेख गर्दै वहाँले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिनुभएको छ ।

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उहाँले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताउनुभयो । नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि बनेको र अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी समेत गर्नुभएको छ ।
पदलोभ, सत्तास्वार्थ र सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र नागरिकको हालत के होला ? उहाँले प्रश्न गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् ।’
हाम्रा कुनै पनि कार्यले देश कहिल्यै पनि हार्न नहुनेमा पनि पूर्वराजा शाहको जोड छ।

