काठमाडौंमा आजदेखि खानयोग्य र अयोग्य खसीबोका छुट्याउँदै पशुचिकित्सक



काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा विभागले खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताउनुभयो । आजदेखि १८ गते नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।

खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । यसवर्षको दशैँमा काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुुमान छ । गएको वर्ष ५० हजारको हाराहारीमा खपत भएको थियो । दशैँको सप्तमी, अष्टमी र नवमीमा सबैभन्दा धेरै सङ्ख्यामा खसीबोका, भेडाच्याङग्रा बिक्री हुने विभागले जनाएको छ ।

व्यवसायीले जाजरकोट, सल्यान, बैतडी, डडेल्धुरा, अछाम, नेपालगञ्ज, गुल्मी, पाल्पा, झापा, इलाम, ओखलढुङ्गालगायतका जिल्लाबाट खरिद गरी काठमाण्डौ उपत्यकामा ल्याएर खसीबोका बिक्री गर्छन् । यस्तै भारतको लखनउ, हरियाणा, राजस्थानबाट पनि खसी आउने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बिक्री मूल्य तय गरि आजदेखि नै खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने तयारी भैरहेको जनाएको छ । दाङ, धादिङ, हेटौँडाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्