गठबन्धनमा देखियो विवादको असर, गगन थापा सिटबाँडफाँडको बैठकमा अनुपस्थित



काठमाडौं।टिकट बितरणको बिषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढीरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिट बाँडफाँटका लागि गठित ५ दलीय कार्यदलको बैठक लगातार बहिष्कार गर्न थालेका छन् ।

कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसकोतर्फबाट सदस्य रहेका महामन्त्री थापाले बैठक बहिष्कार गर्न थालेपछि गठबन्धनकारी दलहरु सशंकित बन्न थालेका छन् ।गत महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीमा बिजयी भएका थापा शीर्ष नेताको बैठकमा समेत प्रवेश पाउँने नेता हुन्। तर, गठबन्धन र कार्यदलको पछिल्ला तीनवटा बैठकमा गगन उपस्थित भएका छैनन्।

उनको अनुपस्थितिले गठबन्धनका चार दललाई भने झस्काएको छ। गगन कांग्रेसले निर्वाचन क्षेत्र लिनुपर्दा १०० बाट घट्न नहुने अडानमा छन्। केही दिन उनी अनुपस्थित हुनुको कारण कांग्रेसलाई मनोवैज्ञानिक दबाब दिन खोजेको र धेरै लचक नहुन भनेको हुन सक्ने सन्देश दिने खोजेको रुपमा अन्य दलले लिएका छन्।कार्यदलका एक सदस्यले भने, ‘कांग्रेसभित्र आन्तरिक दबाब होला, शेखर समूहले भनेका कुरा बाहिर सार्वजनिक भएकै छन्।

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समयसम्म लचक देखिएको कांग्रेस समानुपातिक सूची बुझाएछि अलि बढी अडानमा देखिएको छ। गगन पनि उपस्थित छैनन्। यसले अरु दलहरुलाई झस्काएको छ।’ अर्कोतर्फ गठबन्धनमा रहेका अन्य दलहरु कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई लिएर शेखर समूहमा बढेको असन्तुष्टिले पनि झस्किएका छन्।सो समूहको आज बसेको बैठकले बुधबार कांग्रेस मुख्यालय सानेपामा धर्ना दिने निर्णय समेत गरेको छ।

शेखर समूहले गरेको अलग्गै भेला र आन्तरिक छलफलले गठबन्धनको बैठकमा चर्चा भएको थियो। बैठकमा कतिपय नेताले खेलाँची गर्दागर्दै विद्रोह हुन सक्ने र त्यसले गठबन्धनलाई नै धक्का लाग्न सक्ने भन्दै समयमै सचेत हुन देउवालाई सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्