सोलुखुम्बुमा चाडपर्व लक्षित सुरक्षा योजना लागू



सोलुखुम्बु।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले यात्रु सहायता कक्षको स्थापना गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि सहायता कक्षको स्थापना गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित जोरबौद्ध र वडा नम्बर ८ स्थित पतालेमा दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले सहायता कक्षको स्थापना गरिएको हो ।

सदरमुकाम सल्लेरी प्रवेश साथै अन्य पालिका भित्रिने मूख्य नाका जोरबौद्धमा प्रमुख जिल्ला अधिकारी अनिल खनालको प्रमुख आतिथ्यतामा सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यस्तै सोलुखुम्बु भित्रिने मूख्य नाका पत्तालेमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासाङ कटुवालको प्रमुख आतिथ्यतामा सहायता कक्षको स्थापना गरिएको छ ।

यसैबीच,चाडपर्व लक्षित सुरक्षा योजना २०७९ शनिबारदेखि लागू गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटना, चोरी डकैति नियन्त्रण साथै यात्रुहरुलाई ठगिन नदिनका लागि सो योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना लागू साथै यात्रु सहायता कक्ष स्थापना पश्चात यात्रुहरुलाई सहजता हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्