नेपाली कांग्रेसभित्र ठुलै तनावको संकेत
काठमाडौं। सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने ठुलै तनाव उत्पन्न हुने देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेर बहादुर देउवाको कार्यशैलीबिरुद्ध खबरदारीसभा गरेर नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले त्यस्तो संकेत दिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको थियो ।
सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिबार भेला आयोजना गरेको स्रोतको भनाइ छ । सभापति देउवाले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँडमा एकलौटी गरेको बिषयले कांग्रेसभित्र तनाव सुरु भएको छ ।
सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौंमा आयोजना गरेको ‘खबरदारी सभा’मा पार्टीभित्र अवसर र न्यायका अधिकाँश नेताहरु बोली रहेका छन् । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् ।
शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ । शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाव दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।
खबरदारी भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने र प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो समूहलाई समेट्न दबाब बढाउने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं युवा नेता इन्द्रबहादुर रिजालले बताए । नेता रिजालका अनुसार सभापति देउवाले इतर समूहलाई बेवास्ता गरेर अगाडि बढ्ने नीति लिएपछि यसविरुद्ध भेलामार्फत दबाब दिन लागिएको हो ।
बन्दसूची पेस गर्ने क्रममा इतर समूहसँग सल्लाह नगरी सभापति देउवा पक्षले एकपक्षीय रूपमा आयोगमा सूची बुझाएको इतरको आरोप छ । इतरले तालमेल गरेर जाँदा कांग्रेसले सय सिटभन्दा कम सिट लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग राख्दै आएको छ ।

