वाकुमा बालबालिकाहरुमाथि हुने दुर्ब्यहार न्यूनीकरण सम्बन्धि तीन दिने तालिम सुरु
सोलुखुम्बु।एक्सन फर नेपालले माप्य दुधकोशि गाउँपालिकामा बाल संरक्षण तथा यौन शोसन, यौन दुर्वव्यहार र यौन उत्पीडन सम्बन्धि तालिम सुरु गरेको छ । माप्य दुधकोशि गाउँपालिकाको समन्वयमा सोलुखुम्बु महिला स्वास्थ्य परियोजना अन्तर्गत तीन दीने तालिम सुरु भएको छ ।

बालबालिकाहरुप्रति हुने दुर्ब्यहारलाई न्यूनीकरण गर्दै समुदायमा भएका दुर्ब्यवहारलाई सम्बन्धित निकायमा रिपोर्टिङ गर्नका लागि सीप प्रदान गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको एक्सन फर नेपालकी हेल्थ अफिसर अस्मिता पौडेलले जानकारी दिनुभयो ।
माप्य दुधकोशि गाउँपालिका वाकुमा तीन दिनसम्म सञ्चालन हुने तालिममा गाउँपालिकाको स्वास्थ्य संयोजक, महिला बालबालिका तथा जेष्ठ शाखा प्रमुख, स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सदस्यहरु, स्वयंसेविका, स्वास्थ्यकर्मीहरु, सगरमाथा माध्यमिक विद्यालयका ८ देखि १८ वर्षसम्ममा बालबालिकाहरुलाई तालिम प्रदान गरिने एक्सन फर नेपालले जनाएको छ ।
३५ जना सहभागि रहने तालिमलाई नेपाल बाल संगठन सिन्धुली शाखा सदस्य एंव बालअधिकारकर्मी के. आर विजय दाहालले सहजिकरण गर्नुहुनेछ ।
एक्सन फर नेपालकी हेल्थ अफिसर पौडेलका अनुसार माप्य दुधकोशी गाउँपालिकामा तालिम सकिए पश्चात महाकुलुङ गाउँपालिकाको छेस्काम र सोलुदुधकुण्ड नगरपालिको टाक्सिन्धुमा तालिम सुरु गर्ने योजना रहेको छ ।

