थुलुङ दुधकोशीले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने- ‘अन्य स्थानीय तहले यसबाट सिक्नुपर्छ’
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले थुलुङदुधकोशी गाउँपालिकाले वास्तविक समाजबादतर्फको यात्राको थालनी गरेको बताएका छन् ।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित दुधकोशी सामुदायिक अस्पताल,
बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।गाउँपालिका अध्यक्ष अशिम राईले गाउँको बिकासका लागि निर्बाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले भने,- ‘स्थानीय जनताका लागि निकै उपलब्धिमूलक तीन वटा बिकास योजनाको उद्घाटन एकै दिन गर्न पाउँदा म निकै हर्षित भएको छु।’ गाउँमै अस्पताल निर्माण हुनु,बहुप्राविधिक शिक्षालय बन्नु समाजबादतर्फको यात्रा भएको दावी गर्दै प्रचण्डले थुलुङ दुधकोशीले सुरु गरेको यात्रा अरु स्थानीय तहका लागि पनि अनुकरणीय भएको टिप्पणी गरेका थिए।
‘हामीले समाजबादको जुन परिकल्पना गरेका छौं त्यसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ,त्यसको सुरुवात सगरमाथाको फेदीबाट भएको छ मैंले चाहेको पनि यही नै हो त्यसका लागि म गाउँपालिका अध्यक्ष अशिम राईलाई धन्यवाद दिन चाहन्छु, अध्यक्ष प्रचण्डले भने ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले चतरादेखी सगरमाथाको फेदीसम्म दुई घण्टामा पुग्ने द्रुतमार्ग निर्माण सरकारको योजना रहेको बताए।त्यसका लागि आफुले बजेट प्रस्ताव गरेको जानकारी दिंदै उनले उक्त योजनालाई पूरा गरेरै छोड्ने दृढता व्यक्त गरेका थिए।
गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय संसद प्रतिनिधिसभाका निबर्तमान सदस्य हेमकुमार राई ‘सुरबीर,’ प्रदेश १ सरकारका पूर्बराज्यमन्त्री उत्तमकुमार बस्नेत, संबिधानसभा सदस्य,छिमेकी गाउँपालिका सोताङका अध्यक्ष खिला कार्की र महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ लगायतका बक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, पूर्बमन्त्री राम कार्कीको पनि उपस्थिति रहेको थियो ।

