सरकारले लगायो जबरालाई सर्बोच्च अदालत जान रोक
काठमाडौं।प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित निवासमै रोकिएका छन्।

आइतबार सर्वोच्च अदालत जाने तयारी रहेका उनलाई सरकारको निर्देशनमा सुरक्षा निकायले बालुवाटारबाट निस्कन रोकेपछि उनी निवासमै रोकिएका हुन्। चोलेन्द्र शमशेर राणा निस्कने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जबराविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण रहेको सत्तारुढ दलको जिकिर र नरहेको भन्ने प्रतिपक्षी दलहरुको बिभाजित राय सहितको प्रतिबेदन महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको थियो। राणाले आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भन्दै सर्वोच्च अदालत जाने खबर गरेका थिए।
राणा सर्वोच्च प्रवेश गर्ने समयमा तनावको स्थिति हुनसक्ने भन्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। सर्वोच्च तथा बारको परिसर र सडकमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
कानुन व्यवसायीसमेत सर्वोच्च परिसरमा बाक्लो संख्यामा उपस्थित भएका छन्। नेपाल बार एसोसिएसनले यसअघि नै राणालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने आधिकारिक निर्णय नै गरेको छ।

