समानुपातिक उम्मेदवारहरुको बन्दीसूची टुंग्याउने कसरतमा दलहरू
काठमाडौं।आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रक्रिय आजदेखि शुरू भएको छ।राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यतालिका अनुसार
दलहरू नामावली टुंग्याउने कसरतमा जुटेका छन् ।

नेकपा एमालेले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ।शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि समानुपातिक उम्मेदवार टुङ्ग्याउन संसदीय समिति बैठक बोलाएको हो । केही बेरमा शुरु हुने बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरूबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उम्मेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।
कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो ।
यस्तै समानुपातिक तर्फको उम्मेदवार टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक अहिले केही बेरपछि बस्ने भएको हो ।
स्थानीय पार्टी कमिटी हुँदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुङ्गाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ।
दलहरूले बन्द सूची तयार गर्दा कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी तयार पार्नुपर्छ। त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व हुनुपर्छ। बन्द सूची संशोधन गर्न असोज १० देखि १६ गतेसम्म दिइएको निर्वाचन आयोगले जनाएको छ।
संघीय संसदमा समानुपातिकबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन्। प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम असोज २३ गतेदेखि शुरू हुने छ।

