संबिधान दिवसका अवसरमा भोलि बिहान एमालेले ‘पदयात्रा’ गर्ने,कहाँबाट कुन नेताले गर्दैछन् नेतृत्व ?
काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन भोलि असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गर्नेभएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हुने पदयात्रा उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको शुरू हुने एमालेले जनाएको छ।अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट शुरू हुने पदयात्राको नेतृत्व गर्नुहुने छ । महासचिव शंकर पोखरेल बानेश्वरबाट शुरू हुने पदयात्रामा सहभागी हुनुहुने छ । पाँचै ठाउँका पदयात्रामा पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूले नेतृत्व गर्ने बताईएको छ ।
लैनचौरबाट शुरू हुने पदयात्राको नेतृत्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुहुने छ भने मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट शुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने छन् ।सबै टोली शहीद गेट पुगेपछि अध्यक्ष ओलीको नेतृत्वमा पदयात्रा बसन्तपुरतर्फ प्रस्थान गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा (एमाले) स्थायी कमिटीका सदस्य जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले वताउनुभयो ।
पदयात्रा टोली वसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्नुभएपछि कार्यक्रम समापन गरिने बताईएको छ ।संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिककोे अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिन चाहेको एमालेले जनाएको छ।
‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’ यही नाराका साथ फरक शैलीमा मनाउन लागिएको संविधान दिवस– ‘वाकथन’ कार्यक्रममा सहभागी भई राष्ट्रिय दिवस संगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ।निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो ।

