चिनियाँ जन कंग्रेसका अध्यक्ष ली चान्सु भोलि नेपाल आउँदै, को-को संग गर्दैछन् भेटवार्ता ?
काठमाडौं।चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउंने भएका छन् ।

चिनियां राष्ट्रपति सी जिनफिङपछि तेस्रो वरियताका नेता चान्सुसभामुख अग्नी सापकोटाको निमन्त्रणामा उनी भोलि काठमाडौं आउन लागेका हुन् ।एक सय जनाको टोलीसहित काठमाण्डौं अवतरण गर्न लागेका चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबीच भोली नै प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको बताईएको छ।
अध्यक्ष लीले भदौ २८ मा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
यस्तै, भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको र भदौ ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

