५१ औं बर्षे यात्रामा हामी



  • मुक्ति बास्तोला
    नियमित रुपमा हरेक विहीबार प्रकाशित हुँदै आएको रहस्य साप्ताहिक आजबाट ५१औं वर्ष प्रवेश गरेको छ । निष्पक्ष रुपमा जनतालाई सुसूचित गर्दै आएको यस साप्ताहिकले यति लामो यात्रा तय गर्दा भोग्नु परेका कठिनाई र अप्ठ्याराहरु वर्णन गरी साध्य छैन । तरपनि आम पाठक, लेखक, विज्ञापनदाता, शुभेच्छुक र तमाम सहयोगीहरुले दिनु भएको साथ र ऊर्जाले हामीलाई अहिलेको अवस्थामा ल्याएको हो । यसका लागि हामी सदैव ऋणी र वहाँहरुप्रति कृतज्ञ छौं । उहाँहरुको हामी प्रतिको शुभेच्छा, सद्भाव र सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा पनि हामीले गरेका छौं ।

नेपाली पत्रकारिताको इतिहासमा यति लामो यात्रा तय गर्ने पत्रपत्रिकाहरु सायदै कम छन् । पत्रपत्रिकालाई यति लामो समयसम्म निरन्तरता दिनु आफैंमा कम चुनौतीपूर्ण छैन । सीमित साधन स्रोतका कारण झेल्नुपर्ने कयौं कठिनाईहरु अनुभव गर्नेलाई मात्र थाहा हुने कुरा हो । यद्यपि ती कठिनाईहरुलाई किनारा लगाउँदै अनेकौ विकृति, विसंगतीहरुको भण्डाफोर गर्ने कुरामा हामी कहिल्यै चुकेनौ र चुक्ने पनि छैनौं । लोभ, मोह र प्रलोभनमा नपरी सही सूचना प्रवाह गरेकै कारण कहिले राज्यपक्ष त कहिले अन्य पक्षबाट हामीपर्‍यो । कठिन बाटोमा यात्रा गर्दा अनेकौ घुम्ती र अप्ठ्याराहरु आइलाग्छन्, त्यो वस्तुनिष्ठ सत्य हो । घुम्ती र अप्ठ्याराहरु पार गरेर अगाडि बढ्दा नै गन्तव्यमा पुग्न सकिन्छ भन्ने हामीले राम्ररी बुझेका छौं ।

त्यसकारण पनि हामी राष्ट्र, राष्ट्रियता र जनताको मौलिक हकको पक्षमा हामी दृढतापूर्वक उभिदै विकृति, विसंगती र भ्रष्टाचारविरुद्ध सधैं खबरदारी गरिरहने छौं । हाम्रो मूल गन्तव्य र अभिष्ट भनेको मुलुकको सार्वभौमिकताको रक्षा र राजनीतिका नाममा गरिने स्वच्छन्दताको अन्त्य हो । देशको एउटा अशल नागरिकका लागि पनि यो मूलमन्त्र बन्नुपर्छ । हामी सूचना र समाचारको माध्यमबाट आम नागरिकलाई यही कुरा सुसूचित गरिरहेका छौं ।

राष्ट्रको चौथो अंगका रुपमा परिभाषित गरिए पनि पत्रकारिता क्षेत्र अहिले सार्‍है प्रताडित छ । सूचना प्रविधिको क्षेत्रमा भएको विकासका कारण छापा माध्यमले झनै ठू्लो मार व्यहोर्नु परिरहेको कुरामा दुईमत छैन । कर्पोरेट मिडियाको तुलनामा साना लगानीमाथि राज्य पक्षबाट हुने विभेदका कारण साना लगानीका छापा माध्यमहरु समेत घिटिघिटी अवस्थामा छन् ।

शक्ति केन्द्रको दबाब र प्रभाव भन्दा टाढै रहेर राष्ट्रियता र लोकतन्त्रका लागि छापा माध्यमहरुले निर्वाह गरेको भूमिकालाई अवमूल्यन गरिनु दुःखद पक्ष हो । सरोकारवाला सरकारी निकायहरुले साना लगानीका छापा माध्यमहरुमाथि अझै गिद्दे नजर लगाउने हो भने नेपालमा केही वर्ष पछाडि कर्पोरेट मिडियाहरुको मात्रै बोलवाला रहने निश्चित छ । नेपाली पत्रकारिता क्षेत्रको विकास, विस्तार र जनतालाई सुसूचित गर्ने काममा साना लगानीका पत्रपत्रिकाहरुको योगदान कम छैन । यो यथार्थ सरोकारवाला सबैले बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्