यस्तो छ स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र स्वीकृत दरबन्दी



काठमाडौं।हाल स्थानीय तहमा निर्माण भइरहेका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी स्वीकृत भएको छ।

हालै स्वीकृत भएको उक्त दरबन्दीमा ५ शय्याको आधारभूत अस्पतालका लागि १ जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायव सुब्बा र सरसफाइकर्मी १/१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी रहेको छ।

१० शय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स ५ जना, अधिकृत २ जना, हेल्थ असिस्टटेन्ट ३ जना र कार्यालय सहयोगी ४ जना, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजेनिष्ट र नायव सुब्बा १/१ जना र सरसफाइकर्मी २ जना गरी २२ जनाको दरबन्दी रहने उल्लेख छ।

१५ शय्याको अस्पताल लागि भने नवौँ वा १०औँ तहको मेडिकल अधिकृतको नेतृत्वमा २ मेडिकल अधिकृत, ६ जना स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ।

निर्माण भइरहेका ५, १० र १५ शय्याका आधारभूत अस्पतालको संरचना र दरबन्दीका लागि असार २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयअनुसार संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो। स्वास्थ्य मन्त्रालयले पठाएको पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमुना संगठन संरचना र दरबन्दी पठाएको छ।

प्रतिक्रिया दिनुहोस्