नवौं राष्ट्रिय खेलकुद : सदस्यसचिव घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन



काठमाडौं।नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि कार्यकारी समिति गठन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो। राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ अनुसार प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि परिषद्का सदस्यसचिवका संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने उल्लेख छ।

सोहीअनुसार प्रतियोगिताको मूल आयोजक समितिको बैठकले घिसिङको नेतृत्वमा कार्यकारी समिति गठनको निर्णय गरेको हो। समिति सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल आयोजना हुने प्रदेशको खेलकुद प्रशासकीय प्रमुख, परिषद्का सदस्यमध्येबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा एक जना महिला सहित दुई जना, परिषद्का विभागीय प्रमुख र संयोजकले तोकेको परिषद्को कर्मचारी समितिको सदस्यसचिव हुनेछन्।

बैठकले आवश्यकताअनुसार निर्देशिकामा रहेका १४ वटा विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ। गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारीस्वरूप खेलकुदमन्त्री महेश्वर गहतराजले शुक्रबार मूल आयोजक समिति बैठक राखेका थिए। बैठकले नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टिमले ३६ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। यसैगरी, प्रतियोगिताका लागि ६० करोड बजेट पारित भएको छ। मूल आयोजक समितिको पहिलो बैठकले बजेट पारित गर्ने निर्णय गरेको हो। बैठकले पहिलोपल्ट टिम च्याम्पियन ट्रफी प्रदान गर्ने निर्णय गरेको छ। १० लाख मूल्य लागतमा निर्माण हुने ‘रनिङ सिल्ड’ लगातार तीनपल्ट जित्ने टिमले आफूसँगै राख्न पाउनेछ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँको आकर्षक ट्रफी प्राप्त गर्नेछन्। आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी च्याम्पियन भएको थियो।

प्रतिक्रिया दिनुहोस्