सकेसम्म नेकपा पुनर्गठन नसकेमा चुनावका लागि बाममोर्चा निर्माणमा बामदेवको पार्टीको जोड



काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरिएको हो ।

तत्कालीन नेकपा विभाजनपछि एकताका लागि अभियान सञ्चालन गरेका वामदेवले अहिले त्यसैलाई पार्टीको रूप दिएका हुन् । पार्टीको मुख्य उद्देश्य तत्कालीन नेकपालाई पुनर्गठन गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसो हुन नसके नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचनमा कार्यगत एकता गराउने विज्ञप्तिमा जनाइएको छ ।

“यस पार्टीको सबभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार त्यही विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन गर्नु हो,” विज्ञप्तिमा उल्लेख छ, “यसपछि छिट्टै हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व नै विभाजित कम्युनिस्ट पार्टीहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउन वातावरण सिर्जना गर्ने अर्को उद्देश्य रहेको छ ।”

कार्यगत एकतामा जाने अवस्था सिर्जना हुँदा यी तीन पार्टीहरूसहित राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) समेतको बृहत् वामपन्थी चुनावी मोर्चा निर्माण गर्ने जनाइएको छ ।

तीन पार्टीबीच एकता हुँदा नेकपा एकता राष्ट्रिय अभियान पनि सँगै एकीकत हुने, नभए छुट्टै पार्टीका रूपमा गठन हुने उल्लेख छ ।

पार्टीमा १५ सदस्यीय स्थायी कमिटी, एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष रहने गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्