नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न मेयर बालेन शाहको अपिल



काठमाडौं।काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो ।

यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ ।

यस्तै होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

महानगरपालिकाले आजदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । यसअघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रियसभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको हो ।
जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्