सोलुखुम्बु : ७ सय ६२ जना उम्मेदवारले अझै बुझाएनन् निर्बाचन खर्च विवरण



गार्डेन राई,सोलुखुम्बु।निर्बाचनमा उम्मेदवार बनेका ब्यक्तिले निर्बाचन खर्च बुझाउन तोकिएको समयसीमाको अधिकांशले वेवास्ता गरेको पाईएको छ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनका लागि राजनीतिक दलहरुबाट विभिन्न पदमा उम्मेदवारी दिएका ८०७ जना उम्मेदवारमध्ये ४५ जना उम्मेद्वारले मात्र आफ्नो निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्बाचन कार्यालय सोलुखुम्बुले जनाएको छ।

निर्वाचनमा उम्मेद्वारले घोषणा भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहे पनि ७ सय ६२ जनाले हालसम्म बुझाएका छैनन्।जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार सोलुदुधकुण्ड नगरपालिकामा १८९ जना उम्मेद्वार रहेकामा मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर गान्धी माया तामाङसहित १२ जनाले निर्वाचन खर्चको विवरण बुझाएका छन ।

यस्तै माप्य दुधकोशी गाउँपालिकामा ८५ जना उम्मेद्वार रहेकामा पालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राई सहित २९ जनाले निर्बाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार नेचासल्यान गाउँपालिकामा ९३ जना उम्मेद्वार रहेकोमा डुफकुमार बास्तोला र विष्णु प्रसाद बास्तोला गरि २ जना र महाकुलुङ गाउँपालिकामा ८० जना उम्मेद्वार रहेकोमा भक्त राई र उपाध्यक्ष पदकी उम्मेद्वार शुभधनि राईसहित ८ जनाले मात्र निर्वाचन खर्चको विवरण बुझाएका छन् ।

यसैगरी, थुलुङ दुधकोशी गाउँपालिकाका १४४ जना, सोताङ गाउँपालिकामा ८० जना, खुम्बु पासाङल्हामु गाउँपालिकाका ६२ जना र लिखुपिके गाउँपालिकाका ८५ जना उम्मेद्वारले निर्वाचनको खर्च विवरण बुझाउन बांकी रहेको घिमिरेले जानकारी दिनुभयो।

निर्वाचन खर्चको विवरण अविलम्ब बुझाउनुपर्ने र तोकेको समयभित्र निर्वाचन खर्चको विवरण पेस नगरेका उम्मेद्वारको नाम कारवाहिको लागि सिफारीस गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्