काठमाडौं उपत्यकामा हैजाको संक्रमण बढ्दै



काठमाडौं।काठमाडौं उपत्यकाका विभिन्न ९ ठाउँमा हैजाको संक्रमण देखिएपछि यसले महामारीकै रुप लिन सक्ने देखिएको छ ।

योसँगै हैजाका विरामीको संख्या १२ पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जनामा हैजाको संक्रमण पुष्टी भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पाटनमा भेटिएका विरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । तर, उनको कल्चर रिपोर्ट आउँन बाँकी छ । नैकापका विरामीको भने कल्चर रिपोर्ट पनि पोजिटिभ आएको छ ।

यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका मानिसमा हैजा पुष्टी भएको थियो ।

महाशाखाका निर्देशक चुमनलाल दासले संक्रमणको दर बढिरहेको बताउँदै सचेत हुन सबैमा आग्रह गरे ।

असार २ गते बागबजारका दुई जना दिदिबहिनीमा पहिलो पटक हैजा संक्रमण पुष्टी भएको थियो । पछि परीक्षण गर्दा बागबजारको पानीमा हैजाको जीवाणु भेटिएको थियो ।

हैजाको संक्रमणबाट बच्न यता ललितपुरमा भने पानीपुरी, चटपटे लगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाइएको छ । ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी, चटपटे लगायतका खानेकुरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले हैजा नियन्त्रणका लागि उपाय अगाडि बढाउन सरकारी निकायलाई निर्देशन दिएका छन् । शनिवार नै सम्बन्धित सरकारी अधिकारीहरुलाई हैजाबाट जोगिने उपाय अपनाउन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्