सोताङ गाउँपालिकामा खोसियो एकै पटक दर्जनौं ब्यक्तिको रोजगारी, चौतर्फी आक्रोश बढ्दै



सोलुखुम्बु।स्थानीय तहमै सृजना गरेर बेरोजगारहरुलाई रोजगार बनाउनु नगर या गाउँ सरकारको दायित्व हो।तर यो दायित्वबाट बिमुख हुँदै जिल्लाको सोताङ गाउँपालिकाको नवनिर्बाचित नेतृत्वले रोजगार गरिरहेका दर्जनौं ब्यक्तिहरुलाई बेरोजगार बनाउने गरी हालै एक सूचना प्रकाशित गरेपछि त्यसको अहिले चौतर्फी आलोचना भइरहेको छ।

सोताङ गाउँपालिकामा हाल नेपाली कांग्रेसको तर्फबाट निर्बाचित खिलराज बस्नेत स्थानीय सरकार प्रमुख छन्।गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा नेकपा एमालेका उम्मेदवार प्रकाश कार्कीलाई पराजित गर्दै अध्यक्षमा निर्बाचित भएका बस्नेतले गाउँ कार्यपालिकाको निर्बाचनमा नेकपा एमालेबाट निर्बाचित दुई वडा सदस्यहरुलाई खरिद गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएका छन् ।त्यस यता अध्यक्ष बस्नेतको दम्भले सीमा नाघेको स्थानीयको आरोप छ।

गाउँ कार्यपालिकाको निर्बाचनमा पैसा खाएर कांग्रेसका पक्षमा मतदान गर्ने एमालेबाट निर्बाचित २ जना वडा सदस्य कहाँ छन् स्थानीयलाई थाहा छैन।एमाले नेताहरुबिरुद्ध सार्बजनिक अपराध मुद्दा  दर्ता गर्न उनीहरूलाई बस्नेतले नै सदरमुकामसम्म पठाएका थिए।शक्तिको दुरुपयोग गर्दै बस्नेतले बिपक्षी नेता कार्यकर्ताहरुलाई झुठा मुद्दामा फसाउने षड्यन्त्र गरेपछि सोताङमा उनी विरुद्ध आक्रोश चुलिंदो छ।त्यसमाथि पनि गत शुक्रबार गाउँसभाको निर्णय भन्दै प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले अस्पतालमा कार्यरत एमबीबीएस डाक्टरदेखि फोहोर ब्यबस्थापनमा कार्यरत कर्मचारीसम्मलाई नियुक्ति नविकरण नगर्ने जनाउ दिंदै साउन १ गतेदेखि काममा नआउन सूचना जारी गरेपछि त्यसले बिकराल रुप लिने सम्भावना बढ्दै गएको छ।

सूचनामा उल्लेख गरिए अनुसार अस्पतालका डाक्टर,हेल्थ असिस्टेन्ट ,अहेव,अनमी,स्टाफ नर्स र कार्यालय सहयोगी सबैलाई राजनीतिक दम्भका आधारमा एकैपटक बिदाई गर्ने स्थानीय सरकारको अदूरदर्शी निर्णयले स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्नेत अवस्था सृजना भएको मात्र छैन स्वीकृत दरबन्दी र विभिन्न करार कोटामा कार्यरत शिक्षकहरुको करार सम्झौता थप नहुंदा तत्कालका लागि स्थानीय सयौं विद्यार्थीको पठनपाठन समेत प्रभावित हुने देखिएको छ।

संघीय,प्रदेश र स्थानीय सरकारले तयार गरेका सम्बन्धित कानुन, नियमावली र कार्यबिधी अनुसार नियुक्त कर्मचारी र शिक्षकहरुलाई बिना आधार आफ्ना कार्यकर्ता भर्ती गर्नकै लागि स्थानीय सरकारले गरेको सो निर्णयको नेकपा एमाले सोताङ गाउँपालिका कमिटी,नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सोलुखुम्बु,नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरी बिरोध जनाएका छन् ।गाउँ कार्यपालिकाको यो निर्णय अपरिपक्व,लोकतन्त्र,मानव अधिकार र मौलिक हक प्रदत्त संबैधानिक अधिकार विरुद्ध रहेको उनीहरूको ठहर छ।उनीहरूले निर्णय तत्काल फिर्ता लिन पनि स्थानीय सरकारसंग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्