जमुना पौड्यालका चार मुक्तक

मुक्तक-१
स्वर्गभन्दा प्यारो लाग्छ मलाई देशको माया
मुटुभित्रै गढेको छ आफ्नै देशको छाया
स्वाभिमानी नेपाली हुँ सगरमाथा शिर हो
परिआए देशका लागि अर्पण गर्छु काया ।

मुक्तक-२
आफ्नै देशको खोले फाँडो खाएर बसे पुर्खा
हिमाल, पहाड, तराई नै धाएर बसे पुर्खा
श्रम पोखी सिञ्चित गरे आफ्नै देशको भूमि
डाँडा पाखा पखेरामै माया लाएर बसे पुर्खा ।
मुक्तक-३
कृषि व्यवसाय नेपालीको जिउने आधार हो
बाली झुल्ने तराईफाँट अन्नको भण्डार हो
पसिना पोखे हिरा, मोती ,सुन फल्छ यहाँ
सौन्दर्यको खानी नेपाल प्रकृतिको उपहार हो ।
मुक्तक-४
सहिदको उत्सर्गले मुलुक एकतामा जोडिएको हो
क्रान्तिको विगुलले निरङ्कुशता तोडिएको हो
जनताका लागि सहिद भएका हुन् वीर सपुतहरू
राजनीतिक स्वार्थले उनकै सालिक फोडिएको हो ।
विराटनगर-३

