सिनियर अहेव मेघराजको उदाहरणीय कर्म : बिदाका दिन पनि नि:शुल्क सेवा



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।मेघराज कटेल (कुमार)एक स्वास्थ्यकर्मी हुन्।साविक नेचा बेतघारी-३ मा रहेको स्वास्थ्यचौकीका इन्चार्ज उनी सिनियर अहेबमा पर्छन्।कुमार सोही ठाउँका स्थायी बासिन्दा समेत हुन्।घर र अफिस संगै भएपछि उनलाई सजिलो पनि छ।त्यही भएर पनि स्वास्थ्य चौकी गएर कार्यालय समयमा स्थानीय बिरामीहरुको सेवा गर्न उनी हत्तपत्त छुट्दैनन्।

सरल स्वभाव र मिठो बोली भएका कुमार त्यसै पनि सबैका प्रीय हुने नै भए त्यसमाथि गत शनिबारदेखि उनका प्रशंसकहरु बढेका छन् । कार्यालय समयमा आएर सरकारले तोकिदिएको जिम्मेवारी पूरा गर्ने दिनचर्याका अतिरिक्त सार्बजनिक बिदाका दिन पनि स्वास्थ्यसेवाको पहुंचबाट टाढा रहेका बस्तीमा गएर वृद्धबृद्दा,अशक्त र दीर्घरोगीहरुको नि: शुल्क स्वास्थ्य जांच र परामर्श दिने काम सुरु गरेका छन् उनले ।शनिबार सोही वडाको घलेसुंगाराबाट सेवा सुरु गरेका उनले आईतवार बेंसीगाउँस्थित मलामी विश्राम गृहमा पुगेर स्थानीयलाई सेवा दिएका थिए।

सो क्रममा वृद्धवृद्धा,अशक्त र दीर्घ रोगीहरुको रक्तचाप ,ज्वराे ,सुगर जस्ता जाँच नि:शुल्क गरेको उनले बताए।घलेसुँगारामा २३ र बेंसी गाउँमा ३७ जनाको जांच उनले गरेका थिए।ती मध्ये अधिकांशमा उच्चरक्तचाप र झण्डै आधामा सुगरको मात्रा देखिएको छ।उनीहरूलाई तह र क्षमता अनुसारको सल्लाह दिने र नियमित औषधि सेवनकर्ताहरुको औषधि हेरिदिने गरेको छु,- उनले भने ।

बिदाका दिन अहिले तीन ठाउँबाट नि:शुल्क सेवा सुरु गरेका उनले हरेक पन्ध्र दिनमा पुनः ती ठाउँमा पुग्ने योजना बनाएका छन् । त्यहाँ सम्म पनि आइपुग्न नसक्ने अशक्त ब्यक्तिहरुको घरमै पुगेर पनि उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिने र सामान्य स्वास्थ्य परीक्षण गर्ने उनको सुरुवात निकै उदाहरणीय बनेको छ।

प्रतिक्रिया दिनुहोस्