कविता – ‘हरियो राहदानी’

वीर उदास श्रेष्ठ
जीवनको आरोह अवरोहमा,
पढियो धेरै किताबहरु,
a+b को होल स्क्वायर घोकियो,
suvat को सूत्र प्रमाणित्त गरियो,
ज्योमेट्री, क्यामेस्ट्री, ईतिहास र भुगोल,
के पढिएन र ? बिज्ञान या खगोल !
अर्थशात्र, राजनीति शात्र, नीतिशास्त्र,
पढियो उत्तर कोरियाको क्ष्याप्याश्त्र !

रत्नाकर सुध्रेर वाल्मीकि भएको कथा पढियो,
शेक्सपियरको जुलियस सिजर पढियो,
देबकोटाको मुनामदन पढियो,
त्रीपिटक, बाईबल, महाभारत र गिता
के पढिएन र ? ऐन र संहिता !!
कार्ल मार्क्सको पुँजी पढियो,
माओको सांस्कृतिक क्रान्ति पढियो,
गान्धी जिको नैतिक धर्म पढियो,
बलभद्र, अमर सिंहहरुको बीरता र साहस पढियो,
पागल शासकहरुको अट्टहाँस पढियो !!
राजनीतिक दलको बिधान पढियो,
मान पढियो, सम्मान पढियो,
असल ब्यक्तिले पाएको अपमान पढियो,
कर्ण शाक्यको सोच, खोज, मोज सवै पढियो,
चिना हराएको मान्छे पढियो !!
घाम पढियो, जून पढियो,
विभिन्न देशको कानुन पढियो !!
अब पढ्नु छ जीवनको एउटा किताब,
छाप्न जानु छ राहदानी बिभाग,
छपाउनु छ आफ्नै फोटो,
कान, अनुहार प्रष्ट देखिने गरी !
बोक्नु छ खल्तिमा सुरक्षित साथ,
धाउनु छ म्यानपावर र दलालहरुको दैलो,
लाउनु छ भिसाको धब्बा यहि किताबमा,
कोर्नु छ जीवनको दु:खद ईतिहास,
छोड्नु छ देशको माटो र परिवारसंङ्गको गाँस ,
साट्नु छ अरबमा रगत पसिनासङ्ग नगद,
यहि किताबको सहाराले,
यहि रहेछ जीवन धान्ने असली किताब,
अरु त सबै समयको बर्बाद !
हरियो राहदानी !!

