भारतीय बायुसेनाको विमान गौतमबुद्ध बिमानस्थलमा अवतरण




बुटवल। भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान आएको बताइएको छ।

भारतीय वायुसेनाको इलुसियन विमान आइसी-७६ दिल्लीबाट काठमाडौँ हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले जानकारी दिए।

भारतीय सेनाको यो जहाज नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय विमान भएको प्रवक्ता शाहले बताए।

भारतीय सुरक्षाकर्मीलाई छोडेर विमान आजै दिल्ली फिर्ता जाने प्रवक्ता शाहले बताए। यो विमानस्थल जेठ २ गते नै औपचारिक उद्‌घाटन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्