प्रदेश प्रतिनिधिसहित तिङलाका सयौं कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश,आङकाजीले गरे स्वागत




सोलुखुम्बु । अघिल्लो स्थानीय तहको चुनाव बहिस्कार गरेर ‘नो भोट’ गरेका सोलुखुम्बुको तिङ्लामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका आङकाजी शेर्पाको पक्षमा व्यापक जनलहर देखिएको छ।

तिङ्लामा भएको चुनावी सभामा मेयरका उम्मेदवार शेर्पाको सम्बोधनको क्रममा पटक पटक ताली बर्षाएका थिए । सोही सभामा नेपाली काङ्ग्रेस प्रदेश सभा “क” को प्रदेश प्रतिनिधि शर्मिला बस्नेत सहित विभिन्न पार्टी परित्याग गरी १३२ जना एमालेमा प्रबेश गरे । नव प्रबेशीहरुलाई मेयरका प्रत्यासी उम्मेदवार शेर्पाले स्वागत गरेका थिए।

काँग्रेसको राजनीतिबाट आफू किन अलग भएँ भन्ने सन्दर्भ निकाल्दै मेयरका उम्मेदवार शेर्पाले सम्बोधनको सुरुवातमा काँग्रेसभित्र गुटको राजनीतिले गर्दा सक्षम व्यक्तिहरुलाई धकेल्दै भित्तामा पुर्‍याउने र गुटको राजनीति गर्ने भ्रष्टाचारीहरु अगाडि बढ्दै गएको कारणले पार्टी परित्याग गरी ५ सय जना युवाहरुको माझ पार्टी प्रवेश गरेको जानकारी गराए ।

आफू मेयर पदको लोभ लागेर वा मेयरको गाडी चढ्नका लागि मेयरको उम्मेदवारी दिएको नभई आफूसँग भएका योजना र भिजनलाई सिंगो नगरपालिकामा कार्यान्वयन गरी समृद्ध नगर र सुखी नगरबासी बनाउने अठोट लिएर आएको बताए ।
माटो सुहाउँदो कृषि, कृषिलाई व्यवसायीकरण : एमालेको तर्फबाट सोलुदुधकुण्ड नगरपालिकाको मेयरका उम्मेदवार शेर्पाले जीवनको लामो दौरानमा आफूले विभिन्न पेशा व्यवसाय गरेर आफ्नो व्यक्तित्व विकास गरेंको र समाजको लागि केही गर्दै आएको भए पनि आफूले हासिल गरेको लामो अनुभवबाट सिंगो नगरबासीको लागि केही गरौं भन्ने हेतुले मेयरको उम्मेदवार बनेको बताए ।

‘मैले धेरैवटा पेशा व्यवसायहरु गरें । म ठूला निर्माण व्यवसायी पनि हुँ । नेपालका ठूला निर्माण व्यवसायीहरु मध्ये म पनि पर्छु । यो राज्यको ठूलो करदातामा पर्छु । राज्यलाई कर तिर्दै आएको छु । त्यसकारण यसपटक मैले जानेको कामहरुलाई तपाईहरु माझ पस्किने मौका दिनुभयो भने मेरो कार्यकालमा यो नगरपालिकालाई सुन्दर नगरपालिका बनाउने मैले परिकल्पना गरेको छु’ उनले भने ।

सुन्दर नगर भनेर कुरामा मात्र नभई हरेक कुना कुनामा खोल्सा खोल्सी, पाखा पखेरुलाई जहाँ जे उपयुक्त हुन्छ त्यहाँ त्यस्तै खेती प्रणालीको विकास गर्ने वृहत योजना बनाएको उनले सुनाए । ‘कुना कन्दरा टोल टोलमा सामूहिक एवं व्यवसायिक कृषि अगाडि सार्ने योजना लिएर आएको छु । जुन ठाउँमा जे फल्छ, माटो परिक्षण गरेर त्यो अनुसार फलफूलको विरुवा, तरकारीको ठूल ठूला व्यवसायिक कृषि फार्महरुमा लगानी गराउने, टोल टोलमा सम्पूर्ण समुदायहरुलाई उत्साहित गराएर व्यवसायिक कृषिमा प्रोत्साहन गर्ने लक्ष्य लिएको छु’ सम्बोधनको क्रममा उनले भने ।

यसको लागि अहिलेसम्म आफूले गरिरहेको, जानेका अनुभवहरु सेयर गरेर नगरपालिकाको तर्फबाट विशेषज्ञहरु ल्याएर कृषि पेशालाई प्रोत्साहित गर्ने लक्ष्य लिएको शेर्पाले बताए । ‘हामीकहाँ यत्ति उर्वरा भूमि छ । यत्ति राम्रो जग्गाहरु छन् । तर यहाँ चाहिं परम्परागत कृषिले गर्दा विहान ३ बजेदेखि बेलुकी १० बजेसम्म यही उत्पादनमा रगड्दा पनि हामीलाई खान लाउन धौ धौ छ’ उनले भने ।

अहिले पनि सर्लाहीको तरकारी किनेर खानुपरिरहेको अवस्था रहेको बताउदै शेर्पाले यो अवस्थालाई दृष्टिगत गरी पाँच बर्षे कार्यकालमा कृषिलाई सबैभन्दा बढी लगानी गर्ने । प्रदेश सरकार, संघीय सरकारसँग पनि समन्वय गरेर ठूलो लगानी भित्राएर नगरपालिकाको हरेक टोल टोलमा व्यवसायिक कृषक बनाउने लक्ष्य लिएको बताए । ‘अब एकल रुपमा गरेर दुई चार वटा बाख्रा, दुई चार वटा भैंसी पालेर समय व्यतित गर्नुभन्दा समूहमा मिलेर सामूहिक कृषि गर्दा मात्रै यो परिश्रम खेर नजाने र दैनिक जीवनस्तरमा पनि परिवर्तन आउने हुनाले निर्वाचित भए पछि टोल टोलमा कृषक समूहहरु बनाएर सामूहिक कृषि गर्न प्रोत्सािहत गर्ने मेरो योजना छ’ उनले भने ।‘तपाईहरुले साथ मात्र दिनुहोस् कहाँ किवी हुन्छ, कहाँ स्याउ हुन्छ ? कहाँ तरकारी हुन्छ ? कहाँ सुन्तला फल्छ ? त्यो बिशेषज्ञहरुको सल्लाह अनुसार मैले प्रत्येक टोल टोलमा सामूहिक कृषि खेती गराउने अठोट लिएको छु ।’ उनले भने ।

सही समयमा सही नेतृत्वको छनौट गर्न आग्रह : उनले सही समयमा सही नेतृत्वको छनौट गर्न नसके विकासमा सधैं पछाडि परिरहने र भ्रष्टाचार मौलाईरहने बताए । ‘जनतालाई शोषण गर्ने भ्रष्टाचारका नाईकेहरुलाई जिताएर हामी जस्ता लाई हराएर गल्ती नगर्नुस् । यसो गर्दा यो नगर पाँच बर्ष मात्र होइन, बूढाबूढीको भविश्य त गयो, गयो, आउने पिढींको भविश्य पनि समाप्त हुनेछ । गल्ती नगरीकन, हात नकमाईकन, कसैको कुनै पार्टी नभनीकन, आफ्नो गाउँको हिम्मतवाला काम गर्न सक्ने खालको हैसियत भएको मान्छेलाई जिताएर पठाउनुस् । काम गरेर देखाउने जिम्मा हाम्रो हो ।’ उनले भने ।
चुनाव जित्नका लागि निर्णायक मानिएको सोलु दुधकुण्ड नगरपालिकाको तिङ्लामा एमाले प्रतिको जनलहर देखेपछि भावी मेयर आङ काजी शेर्पा नै भएको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्