गठबन्धनका कारण सभापति भएको स्मरण गर्दै देउवाले भने,- ‘रेणुलाई जिताउनु हाम्रो कर्तब्य हो’



काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनकाप्रति जनताको भरोसाका कारणले नै आफू सभापतिमा निर्वाचित भएको बताएका छन्।

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन
बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले
गठबन्धनप्रतिको समर्थनका कारण नेपाली कांग्रेसको महाधिवेशनबाट ८२ प्रतिशत मतका साथमा आफू सभापतिमा निर्वाचित भएको स्मरण गरेका हुन्।

उनले निवर्तमान मेयर समेत रहेकी रेणु दाहालले महानगरपालिकामा राम्रो काम गरेको भन्दै राम्रो काम गर्नेलाई जिताउनुपर्ने बताए । दाहालले निर्वाचन जितिसकेको उल्लेख गर्दै उनले कांग्रेसले बखेडा गर्नु नहुने बताए ।

प्रधानमन्त्री देउवाले देशमा गठबन्धन आवश्यक रहेको बताए । उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै भरतपुरबाट गठबन्धन टुट्न दिनु नहुने बताए । उनले हाल दाहाललाई जिताउनु आफूहरुको कर्तव्य रहेको भन्दै पछि आफूहरुका लागि छोड्न आग्रह गरिने पनि बताए । उनले दाहाललाई हरायो भने जनताले के भन्लान भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्