बम राखिएको सूचनाले विमानस्थल अस्तब्यस्त, शंकास्पद बस्तु खोज्दै सेना

काठमाडौं । बम राखिएको सूचनापछि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही बेर अस्तव्यस्त बन्यो ।

आज बिहान करिब साढे १० बजेको समयमा विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयको ‘ल्यान्डलाइन’ नम्बरमा फोन गरेर एक अपरिचित व्यक्तिले आन्तरिक विमानस्थल कार्यालयमा आठवटा बम रहेको बताएका थिए ।
सो सूचनापछि विमानस्थलमा रहेका करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ ।
विमानस्थलबाहिर भने नेपाली सेनाको बम डिस्फोजल टोलीले शंकास्पद वस्तु हुन सक्ने आशंकामा ‘सर्च’ गरिरहेको छ । भित्री भागमा बम नभएको पुष्टिपछि विमानस्थल नियमित सञ्चालन भएको हो । यद्यपि, कसैले शंकास्पद वस्तु देखेमा खबर गर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

