सोताङमा एमालेले देखायो शक्ति, नमुना सोताङ निर्माणका लागि ‘सूर्य’ मा मतदान गर्न नेताहरूको आग्रह



मिलन नाछिरिङ,सोलुखुम्बु ।नेकपा एमाले सोताङ गाउँपालिका कमिटीको आयोजनामा बृहत चुनावी सभा सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज मानबिर राईको प्रमुख आतिथ्यमा सम्पन्न चुनावी सभामा आगामी निर्बाचनका लागि घोषणापत्रसमेत सार्बजनिक गरिएको थियो । बिशाल र्‍यालीले शिबटार बजार परिक्रमा गरेपछि श्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगणमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै बक्ताहरुले सोताङमा एमालेलाई पराजित गर्ने शक्ति कसैसँग छैन भन्ने कुराको पुष्टि र्‍यालीमा भएको सयौंको सहभागीताले नै पुष्टि गरेको बताएका थिए।

गाउँपालिका कमिटीका अध्यक्ष बीरबहादुर राईको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य राईले यसअघि एमालेको तर्फबाट निर्बाचित जनप्रतिनिधिहरुले आफ्नो ५ वर्षे कार्यकालमा गरेका काम प्रशंसनीय र उदाहरणीय भएको बताउंदै सोलुखुम्बु नमुना सोताङ निर्माणका लागि फेरि पनि एमालेका उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण सोताङबासीहरुलाई आग्रह गरेका थिए।

सबैलाई अटाउने सबै जातजातिलाई मिलाउने तथा सबै संस्कार र संस्कृतिहरुको संरक्षण गरेर अघि बढ्ने एकमात्र पार्टी एमाले भएको बताउंदै उनले राजनीतिमा आफ्नो भविष्य खोज्नेहरुले एमाले प्रवेश गर्नुको विकल्प नरहेको दावी गरेका थिए।

नेकपा एमाले १ नं प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,पूर्बराज्यमन्त्री एबम् प्रदेश सांसद उत्तमकुमार बस्नेत,एमाले प्रदेश नं १ कमिटी सचिवालय सदस्य महेश किराँती,गाउँपालिका उपाध्यक्षकि उम्मेदवार मनसरी राई तथा ५ नं वडाध्यक्षका उम्मेदवार मानबीर राईले आ-आफ्नो मन्तब्य व्यक्त गरेको सो सभामा पार्टीको तर्फबाट आगामी निर्बाचनका लागि तयार गरिएको घोषणापत्र सार्बजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार प्रकाश कार्कीले घोषणापत्रले सोताङको भविष्यको चित्र कोर्ने ढंगको भएको बताउंदै आफू निर्बाचित भए यसलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।उनले आगामी निर्बाचनमा पनि सूर्य चिन्हमा मतदान गरेर एमालेलाई जिताउन स्थानीयबासीहरुलाई आग्रह गर्दै सोताङ्बासीको रायसल्लाहका आधारमा आफू अगाडी बढ्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्