रामचन्द्र पौडेलको गृह जिल्लामा पनि धमाधम कांग्रेस छोड्दै नेताहरु



तनहुँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बास्तोलासहित पाँच जनाले मङ्गलवार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीबाट रुष्ट भएकाले पत्रकार सम्मेलनपश्चात् पार्टी सभापति जीतप्रकाश आलेसमक्ष उनीहरूले राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस निवर्तमान सचिव बास्तोलाले पार्टीभन्दा पनि नेताको प्रवृत्तिले कार्यकर्ताहरू रुष्ट बनेपछि राजीनामा दिएको बताए । दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसक्नुभएका बास्तोलाले पार्टीभित्र दास प्रवृत्ति मौलाउँदै गएपछि पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएका हुन् ।

“पार्टीभित्र देखिएका कमीकमजोरी औँल्याउँदा उल्टै दुष्मनको व्यवहार सहनुपरेकाले राजीनामा दिने योजना बनाएका हौँ”, उनले भने, “पुनः पार्टीमा फर्किने भन्ने योजना भने रहेको छैन ।” पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए पनि पार्टीभित्र त्यो सह्य नभएको उनले बताए ।

बांस्तोलासंगै कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई,कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहाल,व्यास नगरपालिका-३ का पूर्ववडासभापति बाबुराम बगाले,शुक्लागण्डकी नगरपालिकाका नगर सचिव दीपेन्द्र पौडेल र अर्का नेता दीर्घबहादुर थापाले बिपीको सिद्धान्तअनुरूप पार्टी नचलेको र आफ्ना केही आसेपासेलाई मात्रै काखी च्याप्ने प्रवृत्ति बढेकाले स्वतन्त्र भएर बस्ने इच्छाअनुरूप राजीनामा दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्