थुलुङ दुधकोशी : फेरि दोहोरिए असिम, भन्छन्-‘जनताको सपना र आकांक्षा पूरा गर्न अझै बाँकी छ’



सोलुखुम्बु। थुलुङदुधकोशी गाउँपालिकाका निबर्तमान अध्यक्ष अशिम राईले गाउँपालिका अध्यक्षमा पुनः उम्मेदवारी दिएका छन्।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सोमबार अध्यक्षमा राईसहित उपाध्यक्षमा निबर्तमान उपाध्यक्ष सबिता राईले उम्मेदवारी दिएकी हुन।राई आईतवारमात्रै नेपाली कांग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

नौ वटा वडा रहेको थुलुङ दुधकोशीको वडा नं १ मा जनक बस्नेत,वडा नं २ मा युजन बस्नेत, ३ मा राजु राई,४ मा हर्कबहादुर राई,५ मा चन्द्रबहादुर राई,६ मा मोहनकुमार राई,७ मा भोजराज कार्की,८ मा राजेश राई र ९ मा सनकुमार तामाङले वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको निर्बाचन अधिकृतको कार्यालय थुलुङ दुधकोशीले जनाएको छ।

गाउँपालिका अध्यक्षका लागि पुनः उम्मेदवारी दर्ता गराएका राई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक समेत हुन्।अघिल्लो ५ बर्षे कार्यकालमा गाउँपालिकाको बिकास र समृद्धिका लागि देखाएको सक्रियता र निर्बाह गरेको भूमिकाका कारण चर्चित बनेका राई पालिकाबासीबीच निकै लोकप्रिय मानिन्छन्।

सुरुमा गाउँपालिका अध्यक्षमा दोहोरिने खासै तत्परता नदेखाए पनि स्थानीय जनता र पार्टी कार्यकर्ताको दवावका कारण राई पुनः अध्यक्षमा दोहोरिन बाध्य भएको बताईन्छ।०७४ सालको स्थानीय निर्बाचनबाट पालिका अध्यक्षमा निर्बाचित भएपछि उनले गरेका काम जिल्लाभित्र उदाहरणीय छन्।नयाँ कामको थालनी र पुराना कामहरू सम्पन्न गर्नका लागि पनि अध्यक्षमा राईको निरन्तरता आवश्यक रहेको थुलुङदुधकोशीका स्थानीयहरुको भनाई छ।

सोमबार उपाध्यक्षका उम्मेदवार सविता राईसहित वडाअध्यक्षका उम्मेदवार, नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यलय पुगेका राईले उम्मेदवारी दर्तापछि सामाजिक सन्जालमा लेखेका छन्,- ‘समृद्ध थुलुङ दुधकोसी गाउँपालिका बनाउने महाअभियानमा बाँकी रहेका जनताहरुको सपना र आकांक्षालाई पुरा गर्न, आम गाउँपालिकावासी जनताहरुको भावनालाई सम्मान गर्दै पुनः उभिएको छु एकपटक । विश्वास गर्नुस विकास, निर्माण, जनसेवा सहित सम्पुर्ण रुपमा आकर्षणको केन्द्र बन्दै उचो उभिनेछ थुलुङ दुधकोसी ! बाँकी काम र सेवाबाट ।’

प्रतिक्रिया दिनुहोस्