काठमाडौंमा आजबाट पुनः मेलम्चीको पानी बितरण गरिंदै
काठमाडौं।बाढीबाट क्षति भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीलाई पुन: मेलम्चीको खानेपानी बितरण गरिनेभएको छ । आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आज (आइतवार) बाट काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो ।

आइतवार बिहान पौने ९ बजे खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट उद्घाटन गरेसँगै उपत्यकावासीले मेलम्चीको पानी पुन: उपयोग गर्न पाउनेछन् । गत जेठदेखि मेलम्चीको खानेपानी वितरण रोकिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलनकुमार शाक्यले पानी वितरणका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए ।
मन्त्री चौधरीले मीनभवनबाट खानेपानीको उद्घाटन गर्ने र त्यससँगै रहेको पाइपको परीक्षण पनि गरिने जानकारी दिए । उनका अनुसार मीनभवनसहित बानेश्वर, थापाथली, महाँकाल (चावहिल), अनामनगरलगायत स्थानमा पानी वितरण हुनेछ । यसैगरी कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भू, बालाजु, नयाँ बजार, कालीमाटी, महाराजगञ्ज लगायतका क्षेत्रमा आइतवारदेखि नै पानी वितरण शुरू गरिनेछ ।
सरकारले चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो । घोषणाको १० दिनपछि केयूकेएलले पानी वितरण गर्न लागेको हो । निर्माणको दशकौंपछि २०७७ चैत १५ गतेदेखि केयूकेएलले उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरेको थियो । त्यसबेला भने परीक्षणको रूपमा खानेपानी ल्याएर वितरण शुरू गरिएको थियो ।

