एमालेले सार्वजनिक गर्यो स्थानीय तह निर्वाचन घोषणापत्र
काठमाडौं।नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय घोषणापत्र सार्बजनिक गरेका हुन् ।
घोषणापत्रमा एमालेले रेल र जल यातायातको योजना अघि सारेको छ। ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला सहरहरुमा रेल, बस, र्यातपिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने’, घोषणापत्रमा भनिएको छ।
त्यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ।
प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने एमालेले बताएको छ। ‘सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने’, घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा निरोगी नेपाल, स्वस्थ्य नेपालीको नारा अघि सारिएको छ । पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने एमाले घोषणापत्रमा उल्लेख छ ।

