स्थानीय तह निर्बाचनका लागि कांग्रेसले प्रदेशमा केन्द्रीय र जिल्लामा प्रदेश प्रतिनिधि खटाउने




काठमाडौं।प्रमुख सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि ७ वटा प्रदेशमा केन्द्रीय र ७७ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाउने निर्णय गरेको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकार समेत तोकी प्रदेश मा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।

पार्टी उपसभापति एवम् समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देशन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले गाउँसम्मै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठबन्धनका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय पनि लिएको छ।

कांग्रेसले निर्वाचनका लागि भातृ संघ समन्वय एवं परिचालन उपसमिति पनि बनाएको छ। त्यसैगरी शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति पनि बनाइएको छ।

कांग्रेसले चुनावका लागि जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति पनि बनाएको छ। विदेशस्थित विभिन्न देशका जनसम्पर्क समिति अन्तर्गत जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति पनि कांग्रेसले बनाएको छ।

प्रतिक्रिया दिनुहोस्