माओवादी केन्द्रको चुनावी प्रचार सामाग्रीप्रति कुलमानको बिमत्ति

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो तस्बिर राखेर चुनावी प्रचारप्रसार सामग्री बनाएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसमा बिमती जनाएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे आधिकारिक र प्रमाणित फेसबूक पेजबाट सार्वजनिक गरिएकाे प्रचारप्रसार सामग्रीमा निर्देशक घिसिङसँगै अध्यक्ष प्रचण्ड र पूर्वऊर्जामन्त्रीसमेत रहेका बहालवाला अर्थमन्त्री जनार्दनकाे तस्बिर राखिएकाे छ ।
सार्वजनिक गरिएकाे उक्त तस्बिरलाई लिएर आलाेचनासमेत शुरू भएकाे छ । धेरैले गैरराजनीतिक व्यक्तिकाे तस्बिर कुनै पनि पार्टीकाे चुनावी प्रचारप्रसार सामग्रीमा प्रयाेग हुन नहुने तर्क गरेका छन् । हुन पनि कुलमान अहिलेसम्म विशुद्ध प्राधिकरणकाे कार्यकारी निर्देशक मात्रै हुन् । भलै उनी माओवादी केन्द्रकाे सिफारिसबाट प्राधिकरणमा पुगेका हाेलान्, तर यसरी चुनावी प्रचारप्रसार सामग्रीमा सार्वजनिक पद धारण गरेका व्यक्तिकाे तस्बिर राख्नु गैरजिम्मेवार गतिविधि भएकाे भन्दै आलाेचना तीव्र भइरहेकाे छ ।
माओवादी केन्द्रकाे चुनाव चिह्न गाेलाकारभित्र हँसिया हथाैडाभन्दा मुनि ह्यासट्यागसँगै ‘भाेट फर सीपीएन माओईस्ट’ लेखिएकाे छ । यसले याे माओवादी केन्द्रकाे प्रचारप्रसार सामग्री नै हाे भन्ने कुराकाे परपुष्टि गर्छ । ‘अँध्याराेबाट उज्यालाेतिर यात्रा’ भनेर ट्यागलाइन लेखिएकाेप्रति संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘यसमा मेराे विमति छ, मैले नराख्न भनेकाे थिएँ । उहाँहरूले राख्नुभएकाे रहेछ । यसमा मेराे विमति छ।’

