नेपाली कांग्रेस (बीपी) ले गर्यो संसदीय समिति गठन, केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं। आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बिहिबार देखि सुरु भएको नेपाली काँग्रेस (वी.पी.) केन्द्रीय पदाधिकारीसहित भातृ शुभेच्छुक संघ संस्थाका अध्यक्ष र जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ |

बैठकले पार्टीको बुद्विजिवी विभागले तयार पारेको पार्टीको घोषणा पत्रको मस्यौदा माथि छलफल गर्दै सुझाव माग गरेको छ । पार्टीले सभापति सुशीलमान शेरचनको संयोजकत्वमा बरिष्ठ उप-सभापतिद्वय झलकनाथ वाग्ले, गोविन्द प्रसाद शर्मा उप-सभापति पुष्पराज पराजुली, महामन्त्रीद्वय देवेन्द्र प्रकाश पौडेल, भक्तराज भुसाल र सह-महामन्त्री जगन्नाथ घिमिरे रहने संसदीय समिति गठन गरेको छ ।
पार्टीले निर्वाचन आयोगबाट बुधबार राजनीतिकदलहरुलाई जारी १७ बुँदे निर्देशनमा ६ नम्बर बुँदामा रहेको स्थानीय तहमा एक पदमा मात्र उम्मेदवार दिने दलले महिलाको व्यवस्था गर्नु पर्ने कुरा स्थानीय निर्वाचन ऐन २०७३ को दफा १७ को उप दफा ४ संग बाझिएकोले उक्त बुदामा आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराउदै थप प्रष्ट पार्न माग गरेको कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए |
बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सक्रियता पूर्वक भाग लिदै ठुला भनिने सतारुढ दल, प्रतिपक्षबाट स्थानीय तह र समग्र राज्य माथिको दोहन, भ्रष्ट्राचारको भण्डाफोर गर्दै जनताको घर-घरमा जाने जनाएको छ | साथै पार्टीले आफ्नो पार्टीले महान अभियानको सुरु गरेको भन्दै आम-नागरिकलाई साथ र सहयोग गर्न अपिल सहित करुवा चिन्हमा मतदान गर्न अनुरोध गरेको छ |
पार्टीले संघियता, गणतन्त्र र धर्मनिरपेक्षता खारेजीलाई प्रमुखरुपमा प्रस्तुत गर्दै स्थानीय निर्वाचनमा जाने बताएको छ | आवश्यकता अनुसार विचार मिल्नेहरूसँग गठबन्धन गर्न पनि सक्ने बताएको छ |

