कांग्रेसले जारी गर्यो यस्तो निर्देशन,उम्मेदवारको नाम बैशाख १ गतेसम्म केन्द्रमा पठाइ सक्नु पर्ने
काठमाडौं।नेपाली कांग्रेसले स्थानीय तहतर्फ उपमहानगरपालिकासम्मका उम्मेदवारको नाम वैशाख १ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिएको छ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बिहिवारको बैठकले उम्मेदवार टुंग्याउने समय तालिकाबारे जानकारी गराउँदै यस्तो निर्देशन जारी गरेको हो।
समितिले निर्धारण गरेको समय तालिका अनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुंग्याएर नामावली बुझाउन निर्देशन दिएको छ। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिले वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाउनुपर्ने निर्देशनमा उल्लेख छ।
समितिले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्न पनि निर्देशन गरेको छ।
विधानमा गरिएको व्यवस्था बमोजिम विभिन्न तहमा संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न पनि बैठकले निर्देश समेत गरेको छ।

