विवेकशील साझा विवाद उत्कर्षमा, केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ
काठमाडौं । विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबार पार्टी कार्यालयमा दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि कार्यालय बन्द गरिएको हो ।

पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रवीन्द्र मिश्रलाई किन कारबाही नगर्ने भन्दै तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाँडिएको हो ।
असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका विषय राख्न खोज्दा रोक्न खोजिएको बताए । उनले पार्टीभित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षरसहित आफूहरूले निर्वाचन आयोगमा जानकारी गराएको दाबी गरे । पार्टीलाई कुनै पनि हालतमा राप्रपाकरण हुन नदिने उनको भनाइ छ ।
संस्थापन पक्षका नेता शरदराज पाठकले भने पार्टीको शुभकामना आदानप्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार स्म्मेलन गर्न खोजेपछि विवाद भएको जिकिर गरे । पार्टीको विधि–विधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप उनले लगाए । आफूअनुकूलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक विकृति उत्पन्न गर्न खोजेको उनको भनाइ छ ।
विवादपछि पार्टीले सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको जनाएको छ । दुई पक्षको विवादलाई मध्यनजर गर्दै पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

