चिनियाँ विदेशमन्त्री वाङ आज तीनदिने नेपाल भ्रमणमा आउंदै
काठमाडौं।चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन्।

विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी भारत हुँदै नेपाल आउने बताइएको छ।परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन दलहरूको समर्थनमा प्रधानमन्त्री बनेपछि नेपालमा यो पहिलो उच्चस्तरीय भ्रमण हो।विदेश वाङको भ्रमणका बेला नेपाल र चीनबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी हुनेछ भने विभिन्न परियोजनालगायतबारे पनि कुराकानी हुनेछ।
नेपालले चिनियाँ पक्षसँग नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्या लगायत विषय पनि उठाउने भएको छ।साथै बिआरआई परियोजनालगायत विषयमा पनि कुराकानी हुनेछ।
विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।

