खोटाङ एमालेले एक महिने बिशेष अभियान सञ्चालन गर्ने

दिक्तेल।आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ एमालेले जिल्लाका १० वटै पालिकामा एक महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ९ चैतमा केपिलासगढी गाउँपालिकामा, १० चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा, ११ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा, १२ चैतमा बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा, १३ चैतमा ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा, १४ चैतमा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा अभियान सञ्चालन गरिने एमाले अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।
अध्यक्ष दंगालका अनुसार आगामी १९ चैतमा दिक्तेल बजारमा हुने चुनावी सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। ।
५ चैतमा बसेको एमाले जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभालाई बृहत् बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन, देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरिएको हो।

