साना दलहरूलाई ससर्त आफ्नै चुनाव चिन्ह दिने निर्बाचन आयोगको निर्णय
काठमाडौं।राष्ट्रिय दलको मान्यता नपाएका साना दलले आगामी चुनावमा आफ्नो दलको चिह्न पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दललाई उनीहरूको दलको ससर्त चुनाव चिह्नलाई मान्यता दिने निर्णय गरेको हो ।

त्यसका लागि ती दलको कुन–कुन जिल्लाका संगठनको अवस्था कस्तो छ ? त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यसको विवरण पेस गर्नका लागि स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ दललाई आगामी चैत ६ गतेभित्र विवरण पेस गर्ने समयसीमा तोकेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिह्न नपाउने व्यवस्था थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिह्न पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिह्न पाउने भएपछि ती दलले विरोध गर्दै आएका थिए ।
उक्त अवधिमा विवरण पेस नगर्ने दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न प्रदान गरिने आयोगले प्रस्ट पारेको छ । जिल्लाबाट प्राप्त भएको विवरण भिडेको खण्डमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिह्न उल्लेख गर्नेछ ।
त्यसबाहेक भने अन्य जिल्लाका मतपत्रमा उक्त दलको निर्वाचन चिह्न नभएमा उक्त जिल्लाका स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवारी दिएमा पनि स्वतन्त्र समूहको निम्ति छुट्याइएको निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिने प्रतिबद्धता समेत दलले व्यक्त गर्नुपर्नेछ ।

