स्थानीय तह निर्बाचनका लागि रणनीति बनाउँदै एमाले



काठमाडौं।संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले बैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्बाचनको परिणाम आफ्नो पक्षमा पार्न चुनावी रणनीति बनाउने भएको छ।

यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले हालै सम्पन्न प्रदेश प्रशिक्षणका क्रममा प्राप्त नेता कार्यकर्ताहरुबाट प्राप्त सुझावका आधारमा चुनावी रणनीति तय गर्न लागेको हो।एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो।

बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ।

एमालेबाट माधव नेपाल नेतृत्वको समूह विभाजन भए पनि माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापालगायतका नेता एमालेमै बसेका कारण यस दलका नेता कार्यकर्ताको मनोबल बढेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्